विद्युतीय सुरक्षा – न प्राधिकरणलाई चासो न विभागलाई चिन्ता
विद्युतीय सुरक्षा – न प्राधिकरणलाई चासो न विभागलाई चिन्ता
नेपालमा विद्युत ऐन वि सं २०४९ र विद्युत नियमावली २०५० मा लागु भएको पाइन्छl जसमा विद्युत क्षेत्रसंग सम्बन्धित सम्पूर्ण कार्यहरुको मापदण्ड र आवश्यक प्रक्रिया निर्धारण गरिएको छl विद्युत क्षेत्र भन्नाले विद्युत उत्पादन, प्रसारण, सब स्टेशन र वितरण प्रणालीको समग्रता बुझिन्छ र विद्युत ऐन तथा नियमावली विद्युत क्षेत्रका यिनै तत्वहरूको सुरक्षात्मक तथा गुणात्मक प्रावधानहरु संग सम्बन्धित रहेको छl नियमावली भनेको कानुन हो र कानुन मान्नु पर्ने हामी सबैको दायित्व होl विद्युत ऐन र नियमावलीले मानवीय तथा यान्त्रिक सुरक्षाका आधारभूत प्रावधानहरु निर्धारण गरेको देखिन्छ तर व्यावहारिक रुपमा कसरी ती मानवीय तथा यान्त्रिक सुरक्षाका पक्षहरुलाई बेवास्ता गरिंदैछ र त्यसमा पनि सरकारी निकायले नै कसरी कानुनको उल्लङ्घन गरिरहेको छ भन्नेकुरा जान्नको लागी एक नजर तल दिइएका तस्वीरहरु तर्फ़ फर्केर हेर्दा स्पष्ट हुन्छl
तस्वीर नम्बर १ मा १३२ केभी र ६६ केभीका लाईनहरु घर माथिबाट लगिएको स्पष्ट देख्न सकिन्छl जबकि विद्युत नियमावली अनुसार “घर माथि बाट कुनै किसिमको विद्युत लाईन लैजानु हुँदैन” भन्ने स्पष्ट प्रावधान राखिएको छl यो प्रावधान राखिनुको पछाडी अवश्य पनि केही निश्चित कारणहरु छन् जुन मानवीय सुरक्षा संग गाँसिएका छन्l मानवीय सुरक्षासंग सम्बन्धित यो प्रावधान सरकारी निकाय नेपाल विद्युत प्राधिकरणबाट नै उल्लङ्घन गरिनु अनि त्यसै माथि नियमन र अनुगमनको जिम्मेवारी लिएर बसेको विद्युत विकास विभाग समेत आँखा चिम्लिएर बस्नुले कानुनी राज्यको आभास गर्न सकिने अवस्था नरहेको र जनताको जीउ धनको सुरक्षा जस्तो संवेदनशील विषयमा सरकारको चासो पटक्कै नरहेको अवस्था उजागर हुन्छl
दोश्रो तस्वीर पनि घरमाथिबाट कुनै किसिमको लाईन लैजानु हुँदैन भन्ने कानुनी प्रावधानको उपहासको अर्को ज्वलन्त उदाहरण होl यसमा घर/पसल माथि बाट ११ केभीको लाईन लगिएको र ११ केभीको पोल घर/पसलको बीचमै रहेको देख्न सकिन्छl रिंगरोडको छेवैमा देख्न सकिने यो दृश्यले कानुनको उपहास कुन हदसम्म सरकारी निकायले नै गरिरहेका छन् भन्ने कुरा लाई अझ बढी स्पष्ट पार्छl
तेश्रो तस्वीरमा ट्रान्सफर्मरबाट निकालिएको ४०० भोल्टको लाईनको तार भुईंदेखि लगभग ४ फीटको हाराहारीमा रहेको स्पष्ट देख्न सकिन्छl नियमावली अनुसार विद्युतीय उपकरणहरु सुरक्षित तरीकाले राख्नु पर्ने र उपकरणहरु राखिएको स्थानमा खतरा झल्किने सूचना स्पष्ट बुझिने र देखिने गरि राख्नु पर्ने प्रावधान रहेको छ तर लाग्छ प्राधिकरण लाई त्यो प्रावधान न जान्न जरुरी छ न मान्न नै जरुरी छl त्यसैले होला सुरक्षित तरिकाले ट्रान्सफर्मर राखी खतराको साईनबोर्ड राख्नु त कता हो कता झन् जमीन देखि तारसम्म हुनु पर्ने न्युनतम दुरी समेत कायम नगरी जथाभावी तरिकाले तारहरु जोडी करीब करीब एम्बुसको अवस्थामा छोडिएको छl जुन तारमा अबोध स्कूले नानीहरु झुन्डिएर दुर्घटनाको शिकार बन्न सक्ने अवस्था टड्कारो रहेको र कथं कदाचित कुनै दुखद घटना नघटे सम्म यस बेथिति प्रति जिम्मेवार निकाय विद्युत प्राधिकरणको ध्यान पुग्ला भन्ने कल्पना समेत गर्ने अवस्था देखिंदैनl
चौथो तस्वीर उपकरणीय सुरक्षाको ठाडो उल्लङ्घन गरिएको प्रतिनिधि तस्वीर होl ट्रान्सफर्मरबाट निकालिएको ४०० भोल्टको लाईनमा सुरक्षा संयन्त्र एमसीसीबी नराखिकन सोझै वितरण लाईनमा जोडिएको अवस्था छl ट्रान्सफर्मरलाई लो भोल्टेज वितरण लाईनमा असामान्य अवस्था आएको खण्डमा बचाउनको लागी एमसीसीबी राख्नु पर्ने सर्वमान्य इन्जिनियरिंग सिद्धान्त होl तर यस सामान्य सिद्धान्तलाई समेत बेवास्ता गरी एमसीसीबी नराखीकन सप्लाई दिइएको यो अवस्था नेपाल विद्युत प्राधिकरणको आफ्नै मापदण्ड विपरीत रहेको र यो अवस्थाले प्राधिकरणको गैर जिम्मेवार चरित्रलाई अझ बढी उजागर गर्न सघाउ पुरयाई रहेको देखिन्छl
पाँचौं तस्वीरले पनि कानुन उल्लङ्घनको एउटा पक्षलाई चित्रित गरेको छl कानूनी प्रावधान अनुसार लाईनमा प्रयोग हुने पोलहरुमा सपोर्ट अथवा स्टे दिंदा स्टे तारमा भुईंबाट ३ मीटर उँचाई भन्दा घटी नहुने गरी इन्सुलेटर राख्नु पर्ने प्रावधान राखिएको छ तर प्रस्तुत तस्वीरमा स्टे तारमा इन्सुलेटर राखिएको कतै देखिंदैनl मानवीय सुरक्षासंग गाँसिएको यो प्रावधान पनि पुरा गर्नु पर्ने आवश्यकता न प्राधिकरण ठान्छ न नियमन गर्ने निकाय विद्युत विकास विभागl
छैठौं तस्वीर उपकरणीय सुरक्षासंग सम्बन्धित छl विद्युत नियमावलीले आकाश बिजुलीबाट बचावटको लागी आकाश बिजुली रक्षक अथवा लाईटनिंग अरेस्टर राख्नु पर्ने प्रावधान राखेको छl तारमा चट्यांग पर्दा उत्पन्न हुने हाई भोल्टेजलाई लाईटनिंग अरेस्टरले भुइँको बाटो अर्थात् अर्थिङ्ग गरेर ट्रान्सफर्मरलाई उच्च भोल्टेजबाट बिग्रिनबाट बचाउने काम गर्छl प्राधिकरणको प्राविधिक मापदण्ड अनुसार पनि ट्रान्सफर्मरको सुरक्षाको लागी लाइटनिंग अरेस्टर राख्नु पर्ने प्रावधान रहेको पाईन्छl तर यस ट्रान्सफर्मरको सुरक्षाको लागी लाइटनिंग अरेस्टर राखिएको कतै देखिंदैनl यो अवस्था पनि प्राधिकरणको जथाभावी काम गराईको एउटा उत्कृष्ट नमुना हो भन्न सकिन्छl
सातौं तस्वीरले पनि उपकरणीय सुरक्षाको ठाडो उल्लङ्घन अथवा उपकरणहरुको सुरक्षाको अवस्था कति नाजुक छ भन्ने कुरालाई प्रतिबिम्बित गर्छl प्राविधिक मापदण्ड अनुसार वितरण ट्रान्सफर्मरको सुरक्षाको लागी हाई भोल्टेज साइडमा ड्रप आउट फयुज राख्नु पर्ने प्रावधान छ तर यस तस्वीरमा दुई वटा फेजमा फयुज ब्यारल नरहेको र एउटा सामान्य तारलाई फयुजको रुपमा प्रयोग गरिएको देखिन्छl फयुज तारको काम आफु जलेर अरुलाई बचाउने हो तर मापदण्ड विपरीत फयुज तारको सट्टा राखिएका यस्ता सामान्य तारबाट ट्रान्सफर्मरको सुरक्षा कदापी हुन सक्दैनl यस्ता तारहरु फयुजको रुपमा प्रयोग गरिनु भनेको ट्रान्सफर्मर लाई बलिको बोको बनाउनु सरह हो भन्ने जान्दा जान्दै पनि यो गलत काम रोक्ने तर्फ़ खासै प्रयास भएको देखिंदैन बरु फयुजको सट्टा सामान्य तार बेर्ने काम झन् झन् बढ्दै गैरहेको देखिन्छl
माथि प्रस्तुत गरिएका दृष्टान्तहरु नेपाल विद्युत प्राधिकरण द्वारा संचालित विद्युत प्रसारण र वितरण प्रणालीसंग सम्बन्धित छन्l निजी क्षेत्र द्वारा निर्मित र संचालित तथा वैकल्पिक उर्जा प्रवर्धन केन्द्र द्वारा प्रवर्धन गरिएका विद्युतीय संरचनाहरु पनि कानुनी प्रावधानसंग बेखबर नै देखिन्छनl यी दृष्टान्तहरु नेपालमा विद्युतीय सुरक्षाको अवस्था प्रति नेपाल विद्युत प्राधिकरण र विद्युत विकास विभाग कुन हद सम्म गैर जिम्मेवार छन् भन्ने कुरा देखाउनको लागी पर्याप्त छन् यी त केही दृष्टान्तहरु मात्र हुन्l यस्ता गुणस्तरहीन र गैर जिम्मेवार कामका शृंखला देशैभरी छ्याप छ्याप्ती मौजुद छन्l कानुनमा व्यवस्था भएका कुराहरु पनि नेपाल विद्युत प्राधिकरण जस्तो सरकारी निकायबाट नै पालना नगरीनु अनि नियमनको जिम्मेवारी लिएर बसेको निकाय विद्युत विकास विभाग कानमा तेल हालेर सुतिरहनुलाई अख्तियारको दुरुपयोग भन्नु गलत नहोलाl कानुनको पालना गरिंदैन भने कानुनको किताब लेखी राख्नुको कुनै अर्थ देखिंदैनl यदि कानुनको किताब लेखिन्छ भने त्यसलाई पालना गर्नु सरोकारवाला सम्पूर्ण पक्षहरुको दायित्व हो र नियमन गर्ने निकायले कानुनको पालना भए नभएको निर्क्यौल गरी कानुनको शत प्रतिशत पालना गराउने वातावरण सिर्जना गर्ने तर्फ़ हर हमेशा प्रयासरत रहनुपर्ने आजको टड्कारो आवश्यकता होl